हङकङबाट आएको एयर इन्डियाको विमान दिल्ली अवतरण गर्नासाथ पावर युनिटमा आगलागी

Image

भारतको दिल्ली विमानस्थलमा एयर इन्डियाको विमानको पुच्छरमा रहेको सहायक पावर युनिट (एपीयू) मा आगलागी भएको छ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडर का अनुसार, विमान मंगलबार दिउँसो १२:१२ बजे हङकङबाट दिल्ली आइपुगेको थियो। विमानका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन्।

सहायक पावर युनिट विमानको पुच्छरमा छ। त्यहाँ आगो लाग्दा विमानको बडीमा क्षति पुग्न सक्छ। विमानको इन्जिन बन्द हुँदा पनि यसले नियन्त्रण, बत्ती र एसीलाई सक्रिय राख्छ।

सामान्यतया टर्मिनलमा पार्किङ गर्दा विमानको मुख्य इन्जिन बन्द रहन्छन्, जबकि सहायक पावर युनिटबाट बिजुली आपूर्ति गरिन्छ। यसले इन्धन खपत कम गर्छ।

यो विमान आज (जुलाई २२ मा) हङकङबाट दिल्ली आएको थियो। उडान एआई ३१५ अवतरण पार्किङ गरेलगत्तै एपीयूमा आगो लाग्यो। यो घटना यात्रुहरू ओर्लन थाल्दा भएको थियो। प्रणाली डिजाइनअनुसार, एपीयू स्वतः बन्द भयो।

एयर इन्डियाले विज्ञप्ति जारी गरी विमानमा केही क्षति भएको जनाएको छ। तर यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। थप अनुसन्धानका लागि विमान रोकिएको छ। साथै नियामक निकायलाई जानकारी गराइएको छ।