ट्रम्पले क्यानडालाई दिए ५०% भन्सारको धम्की, कार्नीले भने– ‘स्वीकार्दैनौँ’

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक, अटो पार्ट्स र स्टिलमा भन्सार महसुल ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन्।

अमेरिका र क्यानडाबीचको व्यापार वार्ता विफल भएपछि ट्रम्पले जनवरी १ देखि नयाँ भन्सार दर लागू गर्ने घोषणा गरेका हुन्। उनले क्यानडाले अमेरिकामाथि अनुचित व्यापारिक लाभ लिइरहेको आरोपसमेत लगाएका छन्।

ट्रम्पको घोषणाप्रति प्रतिक्रिया जनाउँदै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पछिल्लो कदम क्यानडाको अटो उद्योगलाई ध्वस्त पार्ने प्रयास भएको बताएका छन्।

ट्रम्पका प्रस्तावित नीतिले क्यानडाको उत्पादन क्षेत्रलाई क्रमशः कमजोर बनाउने कार्नीको दाबी छ। अमेरिकाले क्यानडालाई आफ्नो ‘सहायक कम्पनी’ जस्तो व्यवहार गरिरहेको भन्दै उनले त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

यसअघि ट्रम्पको भन्सार नीतिको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा समान दरमा भन्सार लगाउने घोषणा गरिसकेको छ। क्यानडाले सेप्टेम्बर ८ देखि अमेरिकी सामानमा प्रतिशोधात्मक भन्सार लागू गर्ने जनाएको छ।

अमेरिका र क्यानडाबीच भन्सार तथा व्यापार नीतिलाई लिएर बढ्दो तनावले दुई देशबीचको व्यापार सम्बन्ध थप प्रभावित हुने देखिएको छ।