गृह सचिवमा एकनारायण अर्याल

गृह सचिवको जिम्मेवारी एकनारायण अर्यालले पाएका छन् । गत फागुन २१ गते नयाँ गृहमन्त्रीका रुपमा रवि लामिछाने आएपछि अर्यालले सचिवको जिम्मेवारी पाएका हुन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको हो ।

गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । गृह सचिव भएका अर्यालले प्रधानमन्त्री कार्यालयअघि श्रम सचिवका रुपमा काम गरेका थिए ।

अर्याल यसअघि सहसचिव हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । अर्यालले सचिवका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।