जाजरकोटमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन्। घटनामा अन्य १० जना घाइते भएका प्रहरीले जनाएको छ। भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा पुरिएर ३ जना बेपत्ता भएका हुन्।
पहिरोमा परेर १० जना घाइते भएका प्रहरीले जनाएको छ। शनिबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो।
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका-२ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका-२ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका-२ बस्ने करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। पहिरोमा बेपत्ता हुने रति र उमासिंह आमाछोरा हुन्।
सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
पहिरोका कारण घरहरू भत्किएका तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएका छन्।
पहिरोले भेरी नगरपालिका-३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा-माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा बसेका छन्।
सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षतिग्रसत भएका छन् । ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ।
यी हुन् पहिरोमा परेर घाइते हुने १० जना
१. भेरी नगरपालिका-२ रिसाङ बस्ने ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो आउँदा छाती, टाउको र हातमा चोट लागेको छ । अवस्था गम्भीर रहेका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि साउन ३० गते राति २०:३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
२. आरन सञ्चालक भेरी नगरपालिका-२ रिसाङ बस्ने ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ।
३. भेरी नगरपालिका-२ चिसापानी बस्ने ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था गम्भीर रहेका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति २१:१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
४. भेरी नगरपालिका-१ डौरीकाँडा बस्ने ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । अवस्था मध्यम रहेका उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
५. भेरी नगरपालिका-१ डौरीकाँडा बस्ने १६ वर्षीया मनिषा विक शरीरमा चोट लागेर घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
६. सोही स्थानकी ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
७. भेरी नगरपालिका-२ बस्ने करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति २२:५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
८. सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
९. भेरी नगरपालिका-२ रिसाङ बस्ने लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
१०. सोही स्थानकी ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।













