आसन्न फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना–आफ्ना निर्वाचन क्षेत्रमा जित निकाल्न कठिन देखिएपछि दुई दलबीच अघोषित सहकार्यको छलफल सुरु भएको छ। रास्वपाका बालेन शाह र अमरेश सिंह चुनावी मैदानमा उत्रिँदा दुवै नेताको क्षेत्रमा प्रतिस्पर्धा थप चर्किएको भन्दै कांग्रेस र एमालेले एकअर्कालाई सघाउने रणनीतिबारे गृहकार्य थालेका हुन्।
स्रोतका अनुसार, दुवै पार्टीका शीर्ष नेताहरूले हारको सम्भावना बढे अघोषित गठबन्धनमार्फत अघि बढ्ने सहमति खोजिरहेका छन्। प्रारम्भिक छलफलअनुसार झापामा कांग्रेसले एमाले उम्मेदवारलाई सघाउने र सर्लाहीमा एमालेले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने विकल्पमा कुराकानी अघि बढेको बताइन्छ।
यस विषयमा नेकपा एमालेका उपमहासचिव र कांग्रेस सहमहामन्त्री बीच प्रारम्भिक तहमा संवाद चलिरहेको स्रोतको दाबी छ। उम्मेदवार मनोनयन भइसकेको अवस्थामा दुवै दलले औपचारिक रूपमा आफ्ना उम्मेदवार कायम राखे पनि रणनीतिक रूपमा एकअर्कालाई सहयोग गर्ने समझदारी बन्ने संकेत देखिएको छ।
यसै सन्दर्भमा आइतबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच प्रत्यक्ष रूपमा पनि छलफल भएको बताइन्छ। हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन सफल भएपछि दुई दलबीच सहकार्यको औचित्य थप बलियो बनेको नेताहरूको बुझाइ छ।
राष्ट्रिय सभा निर्वाचनमा १५ सिटका लागि भएको प्रतिस्पर्धामा कांग्रेस र एमालेले बराबरी सिट बाँडेका थिए भने बाँकी एक सिट जसपालाई दिइएको थियो। प्रचन्ड नेतृत्वको नेकपा विरुद्ध गठबन्धन गरेर उम्मेदवारी दिएका कांग्रेस र एमालेका सबै उम्मेदवार विजयी भएपछि आगामी फागुन २१ को निर्वाचनमा पनि फेरि एकै ठाउँ उभिने प्रयास भएको विश्लेषण गरिएको छ।
दुवै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिँदा दुबैलाई हारको जोखिम देखिएको र त्यसलाई टार्न परस्पर सहकार्य अपरिहार्य भएको निष्कर्षमा शीर्ष नेतृत्व पुगेको स्रोतले जनाएको छ।
















