रसुवा–भोटेकोसी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनर्स्थापना तथा पुनर्निर्माणका लागि चार अर्ब ७० करोडदेखि चार अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ ।
तर, प्रारम्भिक पुनर्स्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्यांकन गर्दा आवश्यक रकम प्रारम्भिक अनुमानभन्दा अझ बढी हुन सक्ने बताए ।
बुधबार सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले गैरआर्थिक क्षतिसहितको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।
“विपद्पछिको प्रारम्भिक पुनर्स्थापनाका लागि आवश्यक ५७ मिलियन डलर तत्काल जुटाउन सरकारलाई चुनौती छ,” ढकालले भने ।
सरकारले आवश्यक सबै रकम एकैपटक जुटाउन सक्ने अवस्था नरहेकाले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरिएको उनले बताए ।
लस एन्ड ड्यामेज फन्डको बैठकले नेपाललाई प्रस्ताव पेस गर्न २० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेको छ । त्यसका लागि १.६ मिलियन डलर व्यवस्थापन खर्च छुट्याइएको जानकारी पनि उनले दिए ।
फनडको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रस्ताव तयार गरी पेस गर्ने ढकालले बताए । प्रस्ताव जति छिटो पेस गर्न सकियो, त्यति छिटो स्वीकृति र कार्यान्वयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
प्रस्ताव स्वीकृतिका लागि दुईवटा सम्भावित समयसीमा रहेको उनले जानकारी दिए । प्रस्ताव डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फन्डको बोर्ड बैठकमा पेस गर्न सकिनेछ । आवश्यक तथ्यांक संकलन, प्रमाणीकरण र समीक्षा गर्न समय लागेमा भने मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुने बोर्ड बैठकसम्म निर्णय हुनसक्ने उनले बताए ।














