होटल फरेस्ट इन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। माघ २२ गतेदेखि खुला भएको उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। हालसम्म यस आईपीओमा १८ लाख ९४ हजार ६५७ जना लगानीकर्ताले २ करोड १५ लाख ४ हजार ३८० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जसले माग अत्यधिक रहेको संकेत गर्दछ।
होटल फरेस्ट इन लिमिटेडको जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना अनुसार १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई बाँडफाँड गरिसकिएको छ।
सर्वसाधारणका लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ। यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता शेयरसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडका दीर्घकालीन बैंक सुविधालाई ‘केयर(एनपी) बीबी’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम तहमा रहेको जनाउँछ।
















