साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६७२.३९ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से २६.०५ अंकले घटेको हो।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ।
यसदिन कुल ३२४ वटा धितोपत्रको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१२ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
सोमबार खानीखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता ३०४ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै, रिडी पावरको सेयरमूल्य ९.११ प्रतिशतले बढेर प्रतिकित्ता ३१६ रुपैयाँ ३० पैसा पुगेको छ।
यता, माया खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.४० प्रतिशतले घट्दै प्रतिकित्ता ३११ रुपैयाँ १० पैसामा झरेको छ। त्यसैगरी, माबिलुङ इनर्जीको सेयरमूल्य ४.९३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ७६६ रुपैयाँ ३० पैसा कायम भएको छ।
कारोबार रकमका आधारमा सोमबार रिडी पावर अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सेयर प्रतिकित्ता ३१६ रुपैयाँ ३० पैसामा ७७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
दोस्रो सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको सेयर प्रतिकित्ता १ हजार ९३९ रुपैयाँमा ५४ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। तीमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशतले घटेको छ।
















