नेप्से बुधबार स्थिर, कारोबार रकममा भने सुधार

Image

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार करिब स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुआती समयमा बढेको नेप्से सूचक दिनको अन्त्यसम्म आइपुग्दा सामान्य घटावटसहित स्थिर बनेको हो।

यस साता नेप्से लगातार ओरालो यात्रामा देखिएको छ। आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंकले घटेको थियो भने मंगलबार पनि १०.२५ अंकले ओरालो लागेको थियो। बुधबार भने नेप्से ०.०४ अंकले मात्रै घट्दै २६६२.१० बिन्दुमा झरेको छ।

बुधबार कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से दिनको अन्त्यमा ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा कायम भएको हो। अधिकांश कम्पनीको सेयर मूल्य घटेकाले बजार सूचकमा उल्लेख्य सुधार देखिन नसकेको विश्लेषण गरिएको छ।

यस दिन नेप्सेमा कारोबार भएका १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको सेयर मूल्य बढेको छ। साथै १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ।

बुधबार समूहगत परिसूचकतर्फ अधिकांश समूहमा गिरावट देखिएको छ। वित्त समूह ६.३५, होटल तथा पर्यटन ४७.०७, जीवन बीमा २९.३१, उत्पादन तथा प्रशोधन ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार समूह ८.७७ अंकले घटेका छन्।

यद्यपि केही समूहमा सुधार देखिएको छ। बैंकिङ समूह १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा समूह ९.६५ अंकले बढेका छन्।

बजार सूचक स्थिर रहे पनि बुधबार कारोबार रकममा भने केही सुधार आएको छ। यस दिन नेप्सेमा ३२९ कम्पनीको ८२ हजार ४५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।

मंगलबार नेप्सेमा ३२४ कम्पनीको ८९ हजार ८३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।