खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक योजनाबाट द्रुतमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

Image

प्रधानमन्त्री सुशीला कार्कीले तराई–मधेश द्रुतमार्ग आयोजनाको प्रस्थानविन्दु खोकनामा देखिएको विवादलाई तत्कालका लागि थाती राख्दै वैकल्पिक योजनाबाट काम अघि बढाउन निर्देशन दिएकी छन्। ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा स्थानीय आस्थामा असर पर्ने भन्दै समुदायस्तरबाट चासो र असहमति व्यक्त भइरहेका बेला प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल गर्दै वैकल्पिक विकल्पमार्फत आयोजना अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।

यसअघि गत माघ १३ गते निर्माणाधीन द्रुतमार्गको स्थलगत निरीक्षण भ्रमणका क्रममा समेत उनले विकास आयोजना कार्यान्वयन गर्दा स्थानीय समुदायका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले विकास र स्थानीय संवेदनशीलता बीच सन्तुलन कायम गर्दै आयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिएकी थिइन्।

आजको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारी र मन्त्रालयका सचिवहरू सहभागी थिए।

बैठकमा नेपाली सेनाले हालसम्मको भौतिक प्रगति, देखिएका अवरोध र सरकारसँगको अपेक्षाबारे ब्रिफिङ गरेको थियो। आयोजनाको कार्यान्वयनमा देखिएको ढिलाइ, स्थानीय विवाद र आर्थिक व्यवस्थापनका विषयमा समेत समीक्षा गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न निर्देशन दिँदै विवाद समाधानका लागि पहल गर्नुपर्ने तर अनिश्चितकालसम्म त्यहीँ अल्झिएर बस्न नहुने स्पष्ट पारेकी छन्।