नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा परेको रिटमाथि सर्वोच्च अदालतमा बहस सुरु भएको छ। विशेष महाधिवेशनबाट गगन थापा को नेतृत्वमा चयन गरिएको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ भइरहेको हो।
उक्त रिट शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले दायर गरेका हुन्। हाल यो मुद्दा न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बहस भइरहेको छ।
आजको सुनुवाइमा रिट निवेदक देउवाको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् भने सरकारी वकिलले पनि आफ्नो धारणा प्रस्तुत गर्नेछन्। इजलासले समय व्यवस्थापन गर्दै भोलिका लागि गगन थापा पक्षका कानुन व्यवसायीलाई बहस गर्ने समय तोकेको छ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेल को इजलासले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूलाई पेसीको सूचना दिने आदेश गरेको थियो।
देउवा र खड्काले ४ माघमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइका क्रममा माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेल ले मुद्दामा केही संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण आवश्यक रहेको बताएका थिए।
रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर गर्दै नयाँ निर्वाचित कार्यसमितिलाई अवैधानिक घोषणा गरी भङ्ग गर्न माग गरिएको छ।















