चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले ११ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढी हो।
गत आवको साउनदेखि माघसम्म ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।
भन्सार विभागका अनुसार चालू आवको सात महिनामा ११ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
यस्तै, यस अवधिमा एक खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। निर्याततर्फ ३२.१९ प्रतिशतको वृद्धि देखिएको छ। अघिल्लो आवको सोही अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।
यद्यपि, आयात उच्च रहँदा व्यापार घाटा पनि बढेको छ। चालू आवको सात महिनामा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। गत आवको सोही अवधिमा यस्तो घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ थियो।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको परिमाण उच्च रहँदा समग्र व्यापार सन्तुलन अझै चुनौतीपूर्ण रहेको देखिएको छ।
















