पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
वीरगन्जबाट चितवनतर्फ गइरहेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा बसमा सवार २२ यात्रु घाइते भएका छन्। दुर्घटनालगत्तै प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरिएको उनले बताए।
घाइते सबैलाई उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
















