साताको अन्तिम कारोबार दिन बिहीबार (फागुन १४) सेयर बजार सामान्य अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन परिसूचक ६.०३ अंक अर्थात् ०.२२ प्रतिशतले बढेर २६५४.९३ विन्दुमा बन्द भयो।
आज ३३५ कम्पनीको एक करोड ५३ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन भने चार अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सालपाको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँले बढ्दा रिलायन्सको ४८ रुपैयाँले वृद्धि भएको छ।
यता, १० प्रतिशत नबिल डिबेन्चरका लगानीकर्ताले भने ३.६० प्रतिशतले घाटा बेहोरेका छन्।
बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्तामा मिश्रित मनोविज्ञान कायम रहेको विश्लेषकहरू बताउँछन्।
















