नेपाल विद्युत प्राधिकरणले देशको कूल जनसंख्याको ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको जानकारी दिएका हुन् ।
‘करिब २ वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत पहुँच पाएकोमा, अहिले ९५ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणको विद्युत पाएको छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने ।
साथै, मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सारभूत रुपमा पूर्ण विद्युतीकरण भएको पनि उनले जानकारी दिए । कोशी प्रदेशमा ९५, लुम्बिनी प्रदेमा ९८, कर्णाली प्रदेशमा ६७, सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको पनि उनले बताए ।
नेपालको ७५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट ५०५ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । यस्तै, २२७ वटा स्थानीय तहका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहमा सोलार, साना तथा लघुजलविद्युत आयोजनाबाट विद्युतीकरण भएका छन् ।












