धनुषा–१ निर्वाचन क्षेत्रको विवादसँग सम्बन्धित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दा पहिलो नम्बरमा परेको हो।
निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि धनुषा–१ मा निर्वाचन अधिकृतले करिब १० हजार ४३० मत प्राप्त गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएका थिए।
तर करिब ३२ हजार मत प्राप्त गरेका साहले निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसैबीच बिहीबार सर्वोच्च अदालतले साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको भन्दै आदेश जारी गरेपछि धनुषा–१ को निर्वाचन विवाद झन् पेचिलो बनेको छ। अब अदालतको अन्तिम निर्णयले उक्त निर्वाचन क्षेत्रको नतिजाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।















