चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक मुद्दामा उच्चस्तरीय संवाद अघि बढाउने प्रयासस्वरूप चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार फ्रान्स प्रस्थान गर्ने भएका छन्।
पेरिसमा हुने उक्त वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुन सक्ने सम्भावित शिखर भेटवार्ताअघि महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ। बेइजिङका अनुसार हे लिफेङले मार्च १४ देखि १७ सम्म फ्रान्समा अमेरिकी प्रतिनिधिमण्डलसँग आर्थिक तथा व्यापारिक परामर्शका लागि चिनियाँ टोलीको नेतृत्व गर्नेछन्।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा चीन र अमेरिकाबीच भएको सहमतिअनुसार उक्त वार्ता आयोजना हुन लागेको उल्लेख गरिएको छ। प्रवक्ताका अनुसार बैठकमा दुवै देशका अधिकारीहरूले आपसी चासोका आर्थिक तथा व्यापारिक विषयमा छलफल गर्नेछन्। तर वार्ताको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन।
यसअघि वासिङ्टनले पनि पेरिसमा हुने उक्त वार्ताको पुष्टि गरिसकेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी गरेका छन् भने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर पनि टोलीमा सहभागी रहने बताइएको छ।
ग्रियरले बिहीबार जारी गरेको वक्तव्यमा चीन र अमेरिकाबीचको आर्थिक संवाद अघि बढिरहेको बताएका थिए। पेरिसमा हुने यो भेटवार्तालाई यस महिनाको अन्त्यतिर हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको सम्भावित चीन भ्रमणको पूर्वतयारीका रूपमा पनि हेरिएको छ।
वासिङ्टनका अनुसार ट्रम्पले मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ। तर बेइजिङले आफ्नो नियमित कूटनीतिक अभ्यासअनुसार ती मितिहरू औपचारिक रूपमा पुष्टि गरेको छैन।
सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि चीन र अमेरिकाबीचको सम्बन्धमा पुनः तनाव बढ्दै गएको छ। व्यापार, औद्योगिक क्षमता तथा बजार पहुँचका विषयमा दुवै देशबीच मतभेद देखिँदै आएका छन्।
यसै सन्दर्भमा अमेरिकी व्यापार प्रतिनिधि ग्रियरले चीनसहित प्रमुख व्यापार साझेदारहरूलाई लक्षित गर्दै अतिरिक्त औद्योगिक क्षमतासम्बन्धी नयाँ व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गरेका थिए। चीनको वाणिज्य मन्त्रालयले भने अमेरिकी कदमको कडा आलोचना गर्दै यसलाई ‘एकपक्षीयताको स्पष्ट उदाहरण’ भएको टिप्पणी गरेको छ।
मन्त्रालयले यस्तो अभ्यासले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार व्यवस्थालाई कमजोर पार्ने चेतावनी दिँदै अमेरिकालाई आफ्ना ‘गलत अभ्यासहरू सुधार गर्न’ आग्रह गरेको छ। यस्तो तनावका बीच पेरिसमा हुने वार्ताले दुई ठूला अर्थतन्त्रबीचको आर्थिक सम्बन्ध कता मोडिने भन्ने विषयमा कूटनीतिक चासो बढाएको छ।















