नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकारी कर्मचारीहरूलाई कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्न स्पष्ट निर्देशन दिएका छन्।
शुक्रबार शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि उनले कर्मचारीहरूलाई छोटो ब्रिफिङ गर्दै आफ्नो सरकारको काम गर्ने स्पिरिट समात्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार बलियो रहेको स्मरण गराउँदै काम अघि बढाउन नियम–कानुन परिवर्तन गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि सरकार तयार रहेको बताएका छन्। त्यसैले कानुनी जटिलताको नाममा काम रोकिन नहुने उनको स्पष्ट सन्देश थियो।
प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै एक सचिवले भने, “जसरी हामीले सरकार गठन गरेका छौं र जसरी अघि बढ्न खोजेका छौं, त्यसअनुसारको स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ। नियम–कानुन परिवर्तन गर्नुपर्ने भए सरकार त्यो ल्याउन सक्छ, तर बाहना बनाएर काम रोकिनु हुँदैन।”
प्रधानमन्त्री शाहले कर्मचारीहरूलाई कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न पनि कडा रूपमा सचेत गराएका छन्। “कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,” उनले भने।
प्रधानमन्त्री, मन्त्रीहरू र उच्च सरकारी कर्मचारीहरूबीच भएको उक्त ब्रिफिङ भने लामो समय चलेन। स्रोतका अनुसार प्रधानमन्त्री शाहले करिब पाँच मिनेट मात्र सम्बोधन गर्दै निर्देशन दिएका थिए।
















