रमेश लेखकलाई प्रहरीको २ नम्बर गणमा राखियो

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको भोलिपल्टै जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक दमनको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरीले एमाले अध्यक्ष समेत रहेका ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहानै पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरमा पुर्‍याएको हो।

हाल उनलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको छ। अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखेर स्वास्थ्य जाँच गरिएको छ। रेड जोनमा सामान्यतया जटिल वा विशेष निगरानी आवश्यक पर्ने बिरामीलाई राखिने गरिन्छ।

स्वास्थ्य परीक्षण सम्पन्न भएपछि पूर्वप्रधानमन्त्री ओलीलाई कहाँ राख्ने भन्ने विषयमा निर्णय गरिने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उता शनिबार बिहानै भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको छ।

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि प्रहरीले उनलाई २ नम्बर गणमा लगेर राखेको हो। जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र त्यसबाट भएको मानवीय क्षतिसम्बन्धी घटनामा अनुसन्धान अघि बढेसँगै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको हो।