गृहमन्त्री सुधन गुरूङले भीआईपी सवारीका कारण सर्वसाधारण नागरिकलाई सास्ती हुने अवस्था अन्त्य गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षणका क्रममा उनले एसएसपी नवराज अधिकारीसहितका ट्राफिक प्रहरी अधिकारीहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले भीआईपी सवारीका नाममा सडक खाली गराउने, सर्वसाधारणलाई लामो समय रोक्ने जस्ता अभ्यासले नागरिकलाई अनावश्यक दुःख दिने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न निर्देशन दिए ।
‘जनतालाई दुःख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने होइन । नागरिकका लागि आवागमन सहज हुनुपर्छ । हामी नागरिकका सेवक हौं,’ गृहमन्त्री गुरूङले भने ।
उनले मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूलाई हतार भए समयमा नै निस्किनुपर्ने तर वीआईपी सवारीका नाममा आम नागरिकलाई दुःख दिने अभ्यास स्वीकार्य नहुने स्पष्ट पारे ।
गुरूङले ट्राफिक व्यवस्थापनलाई नागरिकमैत्री बनाउन, अनावश्यक सवारी अवरोध हटाउन र सार्वजनिक यातायात तथा सर्वसाधारणको आवागमनलाई प्राथमिकता दिन पनि निर्देशन दिएका छन् ।
















