नेपाल राष्ट्र बैंकमा कार्यरत २०० जनाभन्दा धेरै कर्मचारी “कालो भेडा”जस्ता !

नेपाल राष्ट्र बैंकका २०० जनाभन्दा धेरै कर्मचारीहरु ‘भेडा’ जस्ता रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

राष्ट्र बैंकको मानव संशोधन व्यवस्थापन विभागले केही दिनअघि सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार राष्ट्र बैंकमा कार्यरत २०० जनाभन्दा धेरै कर्मचारीहरु ‘भेडा’ जस्ता अर्थात् कामै नलाग्ने, बुद्धु रहेको सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा २० प्रतिशतभन्दा धेरै कर्मचारी ब्ल्याक सीप (कालो भेडा) अर्थात् काम नलाग्ने रहेको उल्लेख छ ।

राष्ट्र बैंकको सर्वेक्षणको आधारमा ५८ प्रतिशत कर्मचारीहरू कालो भेडाहरू अर्थात खराबबेकार कर्मचारीहरू छन् । यस्तै ४२ प्रतिशत उत्तरदाताहरूका अनुसार उनीहरूको विभागमा कालो भेडाहरू छैनन् । राष्ट्र बैंकमा १८ विभाग छन् । जसको नेतृत्व विशिष्ट अधिकृत अर्थात् कार्यकारी निर्देशकले गर्छन् । कार्यकारी निर्देशक पद राष्ट्र बैंकको कर्मचारी तहमा सबैभन्दा उच्च तहको पद हो । त्यहाँभन्दा माथिरहेको दुई डेपुटी गभर्नर र गभर्नर राजनीतिक नियुक्ति हो ।

कार्यकारी निर्देशकहरुमध्ये ९० प्रतिशतले आफ्नो विभागमा कार्यरत २० प्रतिशत कर्मचारी कामै नलाग्ने, अल्छि, बुद्धु बताएको प्रतिवेदनमा उल्लेख छ । १० प्रतिशत विभागिय प्रमुखले आफ्नो विभागका ४१ देखि ६० प्रतिशत कर्मचारी ब्ल्याक सीप अर्थात् कामै नलाग्ने भएको जवाफ दिएका छन् ।

प्रतिवेदनका अनुसार कुल कर्मचारीको एक सानो भाग कामको लागि उपयुक्त छैन । त्यस्तै उनीहरूलाई परामर्श, प्रशिक्षण, प्रेरणा, र उपयुक्त कामहरूमा स्थानान्तरण चाहिएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकमा ८ सय १५ जना पुरुष र २ सय ६७ जना महिला कर्मचारी छन् । यीमध्ये स्पेसियल अफिरमा १८ जना पुरुष, अधिकृत (प्रथम तह) मा ४७ जना पुरुष र ८ जना महिला गरी ५५ जना, अधिकृत (दोस्रो तह) मा १ सय ७० जना पुरुष र २८ जना महिना गरी १ सय ९८ जना र अधिकृत (तेस्रो तह) मा १ सय ९४ जना पुरुष र ९४ जना महिला गरी २ सय ९० जना कर्मचारी छन् ।

अधिकृत तहमै ४ सय ३१ जना पुरुष र १ सय ३० जना महिला गरी ५ सय ६१ जना कर्मचारी छन्। यस्तै, सहायक (प्रथम तह) मा १ सय २७ जना पुरुष र ३७ जना महिला, सहायक (दोस्रो तह) मा १ सय ९३ जना पुरुष र ६९ जना महिला, सहायक (तेस्रो तहमा) मा १० जना पुरुष र २ जना महिला कर्मचारी कार्यरत छन् । साथै, ५४ जना पुरुष र २९ जना कार्यलय सहयोगी तहका कर्मचारी कार्यरत छन् ।