नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै उनले उक्त भेला आयोजना गरेका हुन्।
नेपाली कांग्रेस भित्र आन्तरिक छलफललाई तीव्र बनाउने उद्देश्यसहित खड्काले १९ चैतमा भेला गर्ने तयारी गरेका छन्।
यससँगै उनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएका छन्। धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेबाट सुरु हुने बैठक दुई दिनसम्म चल्ने जानकारी स्रोतले दिएको छ।
बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ। गत पुस अन्त्यमा सम्पन्न विशेष महाधिवेशनमा उद्दव थापा, कृष्ण यादव, इन्द्रबहादुर बानियाँ, ललितजंग शाही र वीरबहादुर बलायर सहभागी भएका थिएनन्।
उनीहरूमध्ये उद्दव थापा, कृष्ण यादव र इन्द्रबहादुर बानियाँ भने प्रतिनिधिसभा निर्वाचनपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए।













