ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो

Image

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सोमबार सर्वोच्च अदालतमा बहस सकिएको छ।

ओली र लेखकका कानुन व्यवसायीहरूले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३५ (क) अनुसार अदालतले विशेष आदेश दिनसक्ने व्यवस्था अनुसार आदेश माग गरेका छन्। यसमा बन्दीलाई हाजिर जमानी वा धन जमानीमा छाड्ने आदेश दिन सकिने प्रावधान छ। उनीहरूले यही उपनियम अनुसार आदेश दिन सर्वोच्चमा निवेदन पेश गरेका हुन्।

सोमबार न्यायाधीश मेघराज पोखरेल को एकल इजलासमा पूर्वप्रधानमन्त्री ओलीको रिटमा सुनुवाइ भएको थियो। ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र राधेश्याम अधिकारी, साथै नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्र ले बहस गरेका थिए।

त्यस्तै न्यायाधीश कुमार रेग्मी को इजलासमा पूर्वगृहमन्त्री लेखकको रिटमा सुनुवाइ भएको थियो। आइतबार दुवैका पत्निहरू राधिका शाक्य र यशोध लेखकले रिट दायर गरेका थिए।

सरकारले गत भदौ २३–२४ गतेको जेन्जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। जिल्ला अदालत, काठमाडौँले दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।