प्रधानमन्त्रीसँग भेटमा सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका प्रस्ताव

Image

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद प्रक्रिया सुरु गरेका छन्। संसद् अधिवेशन आह्वान भइनसकेको अवस्थामा उनले सातै प्रदेशका सांसदहरूसँग प्रत्यक्ष छलफल अघि बढाएका हुन्।

सोमबार सिंहदरबारमा भएको पहिलो चरणको संवादमा कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरू सहभागी भएका थिए। उक्त भेटघाटमा सांसदहरूले दलका नेतामाथि भइरहेको धरपकडदेखि जनजीविकासँग सम्बन्धित विभिन्न विषयहरू उठाएका छन्।

छलफलमा सहभागी राजेन्द्रकुमार राई ले विकासको काम अघि बढाउनुअघि स्पष्ट विधि र प्रक्रिया निर्माण गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। उनले रोजगारी सिर्जना बढाएर देशका विभिन्न समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

राईले नेपाललाई समृद्ध बनाउन लामो समयदेखि प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने प्रस्ताव पनि राखेका छन्। उनका अनुसार शक्तिशाली सरकार बनेको अवसरमा यस विषयमा ठोस निर्णय लिनुपर्ने समय आएको छ।

त्यस्तै, पहाडी क्षेत्रमा कृषकहरूलाई समस्या बनिरहेको बाँदर नियन्त्रणका उपायबारे पनि छलफलमा कुरा उठाइएको थियो।