जेनजी आन्दोलनमा जलेको मिसिल नभेटिँदा सांसद रेखा शर्मालाई ३ दिन हिरासत

Image

जेनजी आन्दोलनमा जलेका मिसिल नभेटिएकाले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले थप तीन दिन हिरासतमा बस्नुपर्ने भएको छ। आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँले आइतबार राति शर्मालाई पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति माग्न प्रहरीले जिल्ला अदालतमा म्याद थपको निवेदन दिएको थियो।

सोमबार त्यसमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। तर, अनुमति दिँदा इजलासले टेकेका आधारमा भने रोचक छ। सांसद शर्माविरुद्ध यसअघि पनि मुद्दा परेको थियो। त्यसमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो। त्यही विषय शर्माका पक्षबाट बहस गरेकी अधविक्ता मञ्जु ज्ञवालीले उठाएकी थिइन्। महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चल्न नसक्ने निर्णय गरिसकेको विषयमा फेरि पक्राउ गरेर मुद्दा चलाउने कार्य संविधान एवं कानुनसम्मत नहुने अधिवक्ता ज्ञवालीले जिकिर गरेकी थिइन्।

यस विषयमा यसअघि निर्णय भएको हो वा होइन, निर्णय भएको भए के र कुन विषय के र कस्तो निर्णय भएको हो, यसै विषयमा एक पटक टुंगो लागेको हो वा होइन? यो कुरा अदालतले सोमबार टुंगो लगाउन नसकेको आदेशमा उल्लेख छ। आदेशमा भनिएको छ, ‘मिसिल संलगन कागजात प्रमाणका आधारमा आजै यस इजलासबाट यकीन गर्न सकिएन।’

यससँय जिल्ला सरकारी वकिलको कार्यालयले पनि पुरानो मिसिल अदालतमा पेश गर्न सकेन। जिल्ला सरकारी वकिलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मिसिल जलेर नष्ट भएको सुनाएको थियो। मिसिल नष्ट भएकाले प्रमाण जुटाउन समय लाग्ने जिकिर गरेको थियो। त्यसैलाई आधार मानेर जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतको आदेशमा भनिएको छ, ‘माथि उठान भएको विषयमा मुद्दा चल्ने नचल्ने निर्णय गर्ने साधिकार निकाय जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ समेतबाट बहसका क्रममा तत्काल टुंगो लगाउन कार्यालयमा भएका मिसिल कागज जलेर नष्ट भएकाले केही समयका लागि थुनामा राखी प्रमाण झिकाई बुझी निर्णय गरिने भन्ने इजलास समक्ष अनुरोध समेत गर्नु भएको हुँदा सो समेतलाई ध्यानमा राखी प्रतिवादीका हकमा तीन दिनको म्याद थप समेतको अनुमति प्रदान गरिदिएको छ।’