काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय

Image

आज बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई काठमाडौंको सुविधानगर क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि आवश्यक प्रारम्भिक सोधपुछ गरिएको र त्यसपछि हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो।

रिजाल जेनजी आन्दोलन भएको समय काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनका विषयमा उनीमाथि आरोप लागेको छ।

जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि रिजालसहित सम्बन्धित अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा पछिल्लो समय प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो। तर प्रारम्भिक अनुसन्धानपछि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।