द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धारका लागि  आजदेखि विशेष उडान

Image

पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा आवागमन सहज बनाउन नेपाल सरकारले आजदेखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अप्रिल ३ मा काठमाडौं–दुबई, अप्रिल ४ मा दुबई–काठमाडौं तथा अप्रिल ५ मा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान सञ्चालन गर्ने तालिका तय गरेको छ।

पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउने उद्देश्यले विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ।

चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बसेको बैठकले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार, आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल गरेको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो। पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षाको अवस्थाका कारण ती क्षेत्रतर्फ हुने नियमित उडानहरू फेब्रुअरी २८ देखि स्थगित भएका छन्।

उद्धार उडानका क्रममा आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस कठिन परिस्थितिमा समेत विशेष उडान सञ्चालन गर्न सहयोग र समन्वय गर्ने सबै सरोकारवाला निकायलाई मन्त्रालयले धन्यवाद दिएको छ।