एन्फा उपाध्यक्षसहित मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका १० जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ ।

आज मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए ।

नेपाली टिममा २३ जना खेलाडीबाहेक १६ अतिरिक्त सदस्य छन् । जसमा मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेस, सहायक प्रशिक्षक प्रवेश कटुवालसँगै विनोद डंगोल र मनिष तिम्सिना गोलकिपर प्रशिक्षक छन् । यस्तै, उत्तमराज भण्डारी टिम व्यवस्थापक रहँदा लोकेन्द्र कुँवर फिजियो र ज्ञानबहादुर राई किट व्यवस्थापकमा छन् ।

एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर मलेसिया गएका छन् । यस्तै एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन् । यस्तै ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाएर मलेसिया पठाइएको छ ।

एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग स्वीकृत नलिई १० जना लगेको जानकारी आएपछि कानुनअनुसार गर्नू भनेर पत्र लेखेको खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले बताए ।

विश्वकप छनोट अन्तर्गत बहराइनसँग खेल्ने तयारीमा रहेको नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल्ने तालिका छ । त्यसका लागि खेलाडीसहितको टोली मलेसिया प्रस्थान गरिसकेको छ ।