इस्लामाबाद अमेरिका–इरान वार्ता जारी रहँदा साउदीमा पाकिस्तानी वायुसेना तैनाथ

Image

इस्लामाबादमा अमेरिका–इरान वार्ता जारी रहँदा मध्यपूर्वमा सुरक्षा समिकरण तीव्र रूपमा बदलिएको देखिएको छ। साउदी अरेबियामा पाकिस्तानी वायुसेनाका फाइटर जेट र सि–१३०विमानहरू तैनाथ गरिएको छ । वार्ता असफल भए सम्भावित क्षेत्रीय तनावका लागि तयारी सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । साउदी रक्षा मन्त्रालयले फाइटर जेट र सि–१३०विमानहरू तैनाथ भएको पुष्टि गरिसकेको छ ।

यो कदमलाई २०२५ सेप्टेम्बरमा हस्ताक्षर भएको रणनीतिक पारस्परिक रक्षा सम्झौताको पहिलो व्यावहारिक कार्यान्वयनको रूपमा हेरिएको छ।उक्त सम्झौताअनुसार दुई देशमध्ये कुनै एकमाथि आक्रमण भए त्यसलाई दुवैविरुद्धको आक्रमण मानिनेछ। सैन्य विश्लेषकका अनुसार, इस्लामाबादमा कूटनीतिक वार्ता चलिरहेकै समयमा यस्तो तैनाथी हुनु क्षेत्रीय शक्तिहरू सम्भावित द्वन्द्वको अर्को चरणका लागि तयार रहेको संकेत हो।

विश्लेषकका अनुसार यो तैनाथीले साउदी अरेबिया र पाकिस्तानबीचको रक्षा सम्बन्ध कति गहिरो छ भन्ने पनि देखाउँछ। रणनीतिक पारस्परिक रक्षा सम्झौताको सक्रियता जारी वार्ताको पृष्ठभूमिमा भए पनि साउदी पक्षले सम्भावित सबै परिणामका लागि सुरक्षा सुनिश्चित गर्न खोजेको बताइएको छ। इस्लामाबाद वार्ताले कूटनीतिक समाधान खोज्ने प्रयास गरिरहे पनि वार्ता असफल भएमा क्षेत्रीय शक्ति सन्तुलन झनै जटिल बन्न सक्ने अनुमान गरिएको छ।