काठमाडौं महानगरमा ‘कार पुलिङ’ लागू, इन्धन बचत गर्न सवारी आलोपालो चलाइने

Image

काठमाडौं महानगरपालिकाले इन्धन कटौतीपछि कर्मचारीलाई उपलब्ध गराइने सवारी साधनमा ‘कार पुलिङ’ प्रणाली लागू गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार इन्धन अभाव र यसको दीर्घकालीन नकारात्मक प्रभाव न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।

उनले भनिन्, “विश्वभर इन्धनको अभाव देखिएको छ। अहिलेको अवस्थामा सवारी साधन पहिलेझैँ सञ्चालन गर्दा अत्यावश्यक कामका लागि समेत इन्धन अभाव हुन सक्छ। त्यसैले इन्धनको प्रयोग घटाउनुको विकल्प छैन।”

महानगरपालिकाले ४८औँ कार्यपालिका बैठकमार्फत इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ। त्यसअनुसार ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

कार्यक्रमअन्तर्गत बसोबास क्षेत्रका आधारमा एउटै स्थानबाट आवतजावत गर्ने कर्मचारीहरूको समूह बनाइएको छ। समूहमा रहेका कर्मचारीहरूले आफ्नो सवारी साधन आलोपालो प्रयोग गर्दै अन्य सहकर्मीलाई समेत ल्याउने–लाने व्यवस्था मिलाइनेछ।

यस व्यवस्थाबाट कार्यालयमा आउने–जाने सवारी साधनको संख्या घट्ने र इन्धन खपतमा कमी आउने महानगरपालिकाको अपेक्षा छ।