प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने उक्त कार्यक्रममा विभिन्न दलका सांसदहरूको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा सांसदहरूले आफ्ना(आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा राख्नेछन्। यसबाट जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
सरकारले यस अन्तरक्रियालाई सुशासन, उत्तरदायित्व तथा जनमुखी शासन प्रणालीलाई सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।















