जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र सम्बन्धित धनीलाई फिर्ता लैजान आग्रह गरेको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएसँगै कार्यालयमा जम्मा भएका आठ हजार ९८२ वटा कागजपत्र अझै लिन नआएको अवस्था छ।
विसं २०८० देखि लागू गरिएको उक्त प्रणाली अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाहीस्वरूप कागजपत्र नियन्त्रणमा लिइँदै आएको छ। चौबीसघण्टे पूर्जी प्राप्त गरे पनि तोकिएको समयभित्र जरिवाना नबुझाउने सवारी चालक तथा धनीहरूले अझै कागजात नलिएको कार्यालयले जनाएको छ।
कार्यालयले सवारीचालक अनुमतिपत्र, ब्लुबुक तथा मार्ग अनुमतिजस्ता सक्कली कागजात लिन १० दिनभित्र उपस्थित हुन अनुरोध गरेको छ। तोकिएको समयभित्र कागजपत्र फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार एक महिनासम्म सवारीचालक अनुमतिपत्र निलम्बन हुन सक्ने चेतावनी दिइएको छ।
यस आर्थिक वर्षमा मात्रै दुई हजार २४८ कागजपत्र नियन्त्रणमा लिइएको र सम्बन्धित धनी लिन नआएको कार्यालयले जनाएको छ। आगलागी वा अन्य कारणले कागजात नष्ट भएको अवस्थामा समेत आवश्यक प्रक्रिया पूरा गरी नयाँ कागजात बनाउन सिफारिस गरिने भएकाले राजस्व बुझाएर कागजपत्र लिन कार्यालयले आग्रह गरेको छ।















