सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटिलाई नै आधिकारिकता प्रधान गरेको छ । शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । यो इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो ।
गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा गएका थिए । उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए ।
प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।















