नारायणप्रसाद दाहाल र नुमान कुर्तुल्मुस बीच शनिबार इस्तानबुलमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू) को १५२औँ महासभामा सहभागी हुन टर्की पुगेका अध्यक्ष दाहालले टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख कुर्तुल्मुससँग भेट गरेका हुन्।
भेटवार्तामा नेपाल र टर्कीबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा संसदीय सहकार्यका विविध विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दाहालले संसदीय अनुभव आदानप्रदान, भ्रमण आदानप्रदान तथा संसदीय मैत्री समूह गठनमार्फत दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
उनले नेपाल र टर्कीबीच करिब छ दशकदेखि कायम कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे। हाल टर्कीसँग सम्बन्धित कार्यका लागि नेपाली नागरिकले नयाँ दिल्ली धाउनुपर्ने अवस्थाले समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले श्रम सम्झौता तथा दूतावास स्थापनाले सहकार्य सहज हुने विश्वास व्यक्त गरे।
सभामुख कुर्तुल्मुसले नेपाली प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन टर्की प्रतिबद्ध रहेको बताए। उनले नेपालमा टर्किस दूतावास स्थापना गर्ने विषयमा सकारात्मक धारणा राखेका छन्।
त्यसैगरी, टर्की सरकारले नेपालका लागि उपलब्ध गराउँदै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउने र द्विपक्षीय व्यापार विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। आगामी नोभेम्बरमा टर्कीमा आयोजना हुने कोप–३१ सम्मेलनका लागि आवश्यक सहयोग गर्न पनि उनले नेपालसँग आग्रह गरेका छन्।
उक्त भेटवार्तामा आइपीयू महासभामा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
















