बारामा कलैया उपमहानगरपालिकाका नगरप्रहरीले व्यापारीमाथि ज्यादती गरेको भन्दै विवाद उत्पन्न भएको छ। कलैया बजार क्षेत्रमा नगरप्रहरीले व्यवसायीहरूमाथि कडा व्यवहार गरेको आरोपसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।
व्यापारी दिनानाथ दासका अनुसार नगरप्रहरीको कारबाहीका कारण बजारको व्यापार नै प्रभावित भएको छ। उनले आफ्नो पसल अगाडि राखिएको करिब ४० केजीको खुर्सानीको बोरा नगरप्रहरीले जबर्जस्ती उठाएर गाडीमा लोड गरेको र यसले व्यापारीहरूको मनोबल कमजोर बनाएको बताए।
त्यस्तै मिठाई पसल सञ्चालन गर्दै आएका शम्भु गुप्ताले नगरप्रहरी पसलभित्र प्रवेश गरी सामान छरपस्ट पार्दै गालीगलौज गरेको आरोप लगाएका छन्। उनका अनुसार यस्तो व्यवहारले व्यवसायिक वातावरण त्रसित बनेको छ।
फलफूल पसल सञ्चालन गर्ने रोहन गुप्ता भने आफूलाई नगरप्रहरीले “अपराधीझैँ घिसारेर” बाहिर लगेको दाबी गर्छन्। उनले आफू पसलमै बसेको अवस्थामा बिना स्पष्ट कारण पक्राउजस्तै गरी लगिएको भन्दै कारण बुझ्न नसकेको बताए। प्रत्यक्षदर्शी फुलेना देवीले पनि नगरप्रहरीको समूहले पसलभित्र प्रवेश गरी रोहनलाई बलपूर्वक बाहिर लगेको देखेको बताएकी छन्।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसप्रति स्थानीय व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन्।
यस विषयमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले आफू उक्त समयमा बाहिर रहेको बताउँदै सडक विस्तार तथा सरसफाइका क्रममा सामान्य झडप भएको प्रारम्भिक जानकारी आएको प्रतिक्रिया दिएका छन्। उनले भिडियोमा देखिएको व्यवहारप्रति व्यापारीहरूलाई परेको असर स्वीकार गर्दै आगामी दिनमा नेपाल प्रहरीको समन्वयमा मात्र सरसफाइ तथा व्यवस्थापन गरिने बताए।
घटनापछि बजार क्षेत्रका व्यापारीहरू त्रसित बनेका छन् भने स्थानीय स्तरमा नगरप्रहरीको कार्यशैलीबारे प्रश्न उठ्न थालेको छ।















