प्रहरी निगरानीमा शेखर गोल्छा, आजै पक्राउ गर्ने तयारी

Image

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो । प्रहरी स्रोतका अनुसार गोल्छालाई नियन्त्रणमा लिन निगरानी बढाइएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाले भट्टसँग मिलेर जालसाजीपूर्ण कारोबार गरेको उल्लेख छ।

प्रतिवेदनअनुसार नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा कृत्रिम माग सिर्जना गरी दोस्रो बजार प्रणालीलाई प्रभावित बनाउने प्रयास गरिएको थियो। यसमा घट्टसँगै गोल्छाको लगानी थियो । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमार्फत गरिएको उक्त कारोबारमा मुख्य रूपमा दीपक भट्ट र शेखर गोल्छा संलग्न देखिएका छन् भने सहयोगीको रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापिटल सर्भिसेस, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, र रोहित गुप्ता भएको प्रतिवेदनमा उल्लेख छ।

जालसाजीपूर्ण कारोबारको खुलासा भएपछि गोल्छाले गत फागुन २५ गते हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। चैत ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो। यस प्रकरणले नेपालको शेयर बजारमा नियमन, पारदर्शिता र लगानीकर्ताको सुरक्षासम्बन्धी प्रश्न पुनः उठाएको छ। प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।