अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा अनिश्चितकालका बढाएपछि बुधबार होर्मुज स्ट्रेटमा तीनवटा कार्गो जहाजमा हमला गरिएको छ भने इरानले दुईवटालाई कब्जा गरेको छ। यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ) का अनुसार पहिलो जहाजमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले गोली हानेको थियो।
इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले होर्मुज स्ट्रेटमा तीनवटै जहाजलाई निसाना बनाएको हो। आईआरजीसी सम्बद्ध समाचार एजेन्सी फार्सले ‘युफोरिया’ जहाजलाई निसाना बनाइएको र अहिले इरानी तटनजिकै रहेको उल्लेख गरेको छ। आईआरजीसीको नौसेनाले भनेको छ, ‘कार्गो जहाजहरू एमएससी फ्रान्सेस्का र एपामिनोन्डास “कब्जा” गरिएको छ र इरानी तटतर्फ मोडिएको छ।’
नौसेनाले अगाडि भनेको छ, ‘तिनीहरू आवश्यक अनुमतिबिनै सञ्चालन गरिएका थिए।’ यूकेएमटीओ का अनुसार आईआरजीसीले होर्मुज स्ट्रेटमा एउटा कन्टेनर जहाजमा गोली चलाएको हो।
बेलायती शाही नौसेनाको नेतृत्वमा रहेको यूकेएमटीओले ओमानबाट १५ समुद्री माइल टाढा उत्तरपूर्वमा यो घटना भएको जनाएको छ। रिपोर्टमा भनिएको छ, ‘चेतावनी नदिई आईआरजीसीको एउटा गनबोट जहाजनजिक पुग्यो र गोली चलायो, जहाजको कन्ट्रोल सेन्टरमा ठुलो क्षति भयो।’
इरानी समाचार एजेन्सीले भने त्यो जहाजले इरानी सेनाको चेतावनी बेवास्ता गरेको दाबी गरेको छ। बीबीसी भेरिफाइका अनुसार बुधबार बिहान निसाना बनाइएको दोस्रो कार्गो जहाजमा पनामाको झण्डा फहराइएको थियो। जहाजको नाम युफोरिया हो। यो यूएई कम्पनीको हो।
केप्लरको एआईएस डेटाका अनुसार जहाज बुधबार बिहान होर्मुज स्ट्रेट पार गर्दै थियो। यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर र भ्यानगार्डको रिपोर्टअनुसार जहाजमा बुधबार दिउँसो इरानबाट लगभग आठ समुद्री माइल पश्चिममा आक्रमण गरिएको थियो।
त्यसपछि कप्तानले जहाज रोकेका थिए। चालक दल सुरक्षित रहेको र जहाजलाई कुनै क्षति नभएको बताइएको छ। बुधबार बिहान खाडीमा निसाना बनाइएको यो दोस्रो जहाज हो।
















