सशस्त्र प्रहरीको नयाँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

Image

सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औं महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागका प्रमुखका रूपमा कार्यरत छन्।

पौडेलले आगामी १८ वैशाखपछि संगठनको कमाण्ड सम्हाल्नेछन्। वर्तमान आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही दिन अवकाशमा जाँदैछन्।

आईजीपी पदका लागि पौडेलसँगै एआईजी वंशी दाहाल र गणेश ठाडा मगर प्रतिस्पर्धामा थिए। तर वरीयताका आधारमा पौडेल अगाडि रहेपछि उनी नियुक्त भएका हुन्।

२०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट सेवा सुरु गरेका पौडेल पछि सशस्त्र प्रहरी गठन भएपछि उक्त संगठनमा स्थानान्तरण भएका थिए। उनले डीएसपी, एसपी, एसएसपी, डीआईजी हुँदै २०७९ जेठ ६ मा एआईजीमा बढुवा पाएका थिए।

सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण पौडेलले १८ चैत २०८४ सम्म संगठन प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।