खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

Image

सरकारले वैशाख महिनाभर नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार पाँच वर्षमुनिका खोप छुटेका बालबालिकालाई खोजी गरेर आवश्यक खोप लगाउने उद्देश्यले अभियान सुरु गरिएको हो।

यस अभियानअन्तर्गत १५ महिनासम्म लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप प्रदान गरिनेछ।

सरकारले गत मंसिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्यांक संकलन गरेको थियो। उपलब्ध विवरणअनुसार हाल नेपालमा करिब ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप पाएका छन् भने १० प्रतिशतले सबै खोप नलगाएको र एक प्रतिशत बालबालिका पूर्ण रूपमा खोपबाट वञ्चित रहेका छन्।

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई रोग, अपाङ्गता तथा मृत्युबाट जोगाउन खोप अत्यन्त प्रभावकारी मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप कार्यक्रमकै प्रभावका कारण नेपालमा सन् १९९६ देखि २०२३ सम्म पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटेको छ।

केही जिल्लामा खोप छुटेका बालबालिकाको संख्या बढेसँगै दादुरा–रुबेलाको जोखिम देखिएपछि सरकारले यो अभियान सञ्चालन गरेको जनाएको छ।