अर्थ मन्त्रालय ले देशको धितोपत्रको दोस्रो बजार अस्थिर रहेको स्वीकार गर्दै त्यसमा स्थिरता ल्याउन नीतिगत र कानूनी सुधार आवश्यक रहेको औंल्याएको छ।
मन्त्रालयले सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थासम्बन्धी विवरणमा पूँजी बजारको दायरा विस्तार गर्न उत्पादनमूलक कम्पनीहरूलाई आकर्षित गर्नुपर्ने, गैरआवासीय नेपाली (NRN) को लगानी भित्र्याउनुपर्ने र ऋणपत्र बजारको विकासका लागि तत्काल कानूनी सुधार गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता कायम गर्नु अत्यावश्यक रहेको मन्त्रालयको निष्कर्ष छ।
नेपाल स्टक एक्सचेञ्ज का अनुसार २०८२ फागुनसम्म २८६ कम्पनीहरू पूँजी बजारमा सूचीकृत रहेका छन्। दोस्रो बजार कारोबारमा इक्विटीको हिस्सा अत्यधिक, करिब ९९.४ प्रतिशत रहेको छ। यद्यपि, सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने व्यवस्था भए पनि तिनको कारोबार प्रभावकारी रूपमा हुन सकेको छैन।
बजार पूँजीकरणको आकार पनि क्रमशः बढ्दो देखिएको छ। २०७३ असारमा कुल गार्हस्थ्य उत्पादन (GDP) को ७२.५ प्रतिशत बराबर रहेको बजार पूँजीकरण २०८२ फागुनसम्म आइपुग्दा ७७.७ प्रतिशत पुगेको छ।
यसैबीच, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको वर्चस्व भने घट्दो क्रममा देखिएको छ। २०७३ असारमा धितोपत्र बजारमा यी क्षेत्रको पूँजीकरण हिस्सा ८५ प्रतिशतभन्दा बढी रहेकोमा २०८२ फागुनमा घटेर ५२.२ प्रतिशतमा झरेको छ।
सरकार गठनअघि २०८२ चैत ११ मा नेप्से सूचकांक २,९५०.१६ बिन्दुमा रहेको थियो।
अर्थ मन्त्रालयले दीर्घकालीन रूपमा सन्तुलित र स्थिर पूँजी बजार विकासका लागि संरचनात्मक सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
















