सरकारले लिपुलेक नेपालकै भूमि भएको अडान दोहोर्याएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
परराष्ट्र मन्त्रालयले आइतबार कूटनीतिक नोटमार्फत उक्त भू–भागमा कुनै गतिविधि नगर्न छिमेकी मुलुक भारत र चीनलाई आग्रह गरेको थियो । जवाफमा भारतले मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको छ ।
“नेपाल सरकार पनि जुन सीमाना विवाद भएको छ, त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ,” सरकारका प्रवक्ता पोखरेलले सञ्चारकर्मीसँग भने ।
दुई देशका सरकारबीचको सहकार्यमा बाँकी विषय अघि बढ्ने पनि पोखरेलले बताए । उनले भने, “परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो । त्यसमा भारत सरकारले पनि केही गरेको छ । भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै निकास निकाल्नुपर्छ भनेको छ ।”















