काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी आवागमन पुनः खुलाइएको छ । कुशादेवी क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको सतह बढेपछि सोमबार (वैशाख २१) बिहानदेखि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।
‘डाइभर्सन’ मर्मत गरी सोमबारै दिउँसोदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । “बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।
रोशीमा बाढीसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसअघि सवारी आवागमन बन्द गरिएको थियो ।
विशेष गरी कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा वर्षासँगै समस्या निम्तने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी डाइभर्सन बनाइएको छ ।
गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट सवारी आवागमन गरिँदै आएको छ । गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।















