मन्त्री किराँतीका बुवालाई प्रधानमन्त्रीले दिए अस्पतालमै पुगेर श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका छन् ।

मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, कानुनमन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा लगायतले वीर अस्पतालमै पुगेर राईलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राईको अन्त्येष्टि भोजपुरस्थित उनकै गाउँमा गरिने भएको छ । राईको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लान लागिएको हो । शवलाई हेलिकप्टरमार्फत भोजपुर लगिने जनाइएको छ ।