पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीएको हत्या

Image

पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ ।

मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् ।

लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु अधिकारीले हालैको विधानसभा निर्वाचनमा भाजपा प्रवेश गरी ममतालाई नै हराइदिएका थिए ।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने तयारीमा छ । त्यही बेला चर्चित नेता अधिकारीका पीएको गोली हानी हत्या भएको हो ।

अधिकारीका पीए चन्द्रनाथ रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका भारतीय मिडियाहरुले लेखेका छन् ।

घटनामा उनका चालक बुद्धदेव बेरासमेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई कोलकातास्थित अस्पतालमा भर्ना गरिएको छ ।

प्रारम्भिक जानकारीअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरेका थिए ।घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूमा तीव्र आक्रोश फैलिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।