नेपाली बजारमा सुन–चाँदीको मूल्यमा लगातार वृद्धि भएको छ । बिहीबार पनि सुन र चाँदी दुवैको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार पछिल्ला दुई दिनमा मात्रै सुनको मूल्य तोलामा ७ हजार ६ सय रूपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा ५ हजार ८ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार थप १ हजार ८ सय रूपैयाँले बढेको हो ।
आजका लागि सुन प्रतितोला २ लाख ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ५ हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ५ हजार १ सय ५५ रूपैयाँमा पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रूपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । आज सुन प्रतिऔंस ४ हजार ७ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।















