अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।
जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले आफू इरानसँग सम्झौताको प्रयासमा रहेको बताएका हुन् ।
उनले विशेषगरी होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमलाई लिएर वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गरे । ट्रम्पका अनुसार युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र बनाइएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार इरानले बिहीबार अमेरिकी प्रस्तावबारे आफ्नो औपचारिक जवाफ मध्यस्थकर्तामार्फत दिने तयारी गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग आफ्नो धारणा राख्ने बताएका छन् ।
सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरान दुवै युद्ध अन्त्यतर्फ सहमतिमूलक वातावरण बनाउन प्रयासरत रहेको जनाएको छ ।
इरानले अहिले अमेरिकी प्रस्तावमाथि आन्तरिक छलफल भइरहेको र त्यसपछि औपचारिक निर्णय सार्वजनिक गरिने जनाएको छ ।















