बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीले क्षति पुर्याएपछि बन्द गरिएको राजमार्गमा अस्थायी डाइभर्सन निर्माण गरेर आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो ।
जिल्ला प्रहरी कार्यालयले लगातार वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गत सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध बनेको थियो ।
प्रहरीका अनुसार वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहने भएकाले आवश्यकता अनुसार आवागमन बन्द गराउने गरिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा रोक्ने व्यवस्था गरिएको थियो ।
गत वर्षको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो । त्यसपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिँदै आएको छ ।
हाल उक्त क्षेत्रमा स्थायी सडक पुनःनिर्माणको काम जारी रहेको जनाइएको छ ।















