ढुंगासहितको पहिरो खरेपछि मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तर्गत पर्ने चितवनकाे इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा शुक्रबार (आज) बिहान सुख्खा पहिरो खसेको हो।
ढुंगा खस्न रोखिएपछि बिहीबार बिहानदेखि मात्रै यहाँ दुई तर्फी गाडी चल्न थालेका थिए। त्यसअघि दुईतीन दिनसम्म यहाँ सवारी आवागमन एकतर्फी गरिएको थियो।
आज बिहानबाट पहिरोले सडक पूर्ण रूपमा (दुईतर्फी नै) अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। अचानक माथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको सुख्खा पहिरो झरेपछि सवारी आवागमन प्रभावित बनेको हो।
पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौँ भित्रने तथा पोखरा, चितवन लगायत विभिन्न जिल्लातर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन्।
सडक अवरुद्ध भएपछि यात्रुले सास्ती भोग्नुपरेको छ भने लामो दूरीका मालवाहक तथा सार्वजनिक सवारी साधन समेत प्रभावित बनेका छन्।
सडक डिभिजन भरतपुरले सडक खुलाउनका लागि तत्काल डोजर तथा अन्य आवश्यक मेशिन परिचालन गरिएको जनाएको छ। प्राविधिक टोली र सुरक्षाकर्मीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरो पूर्ण रूपमा हटाएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ।















