कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले बहिष्कार गरेपछि स्थगित भएको छ ।
बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका थिए ।
प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।
त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले केहीबेर अर्कोजनालाई बोलाएर थापाको पक्षमा मत दिएका थिए । एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।
आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।














