प्रधानन्यायाधीमा सिफारिस डा. मनोजकुमार शर्माविरुद्ध उजुरी गर्न संसदीय सुनुवाइ समितिले आह्वान गर्दै सूचना जारी गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले शनिबारबाट लागू हुनेगरी १० दिने सूचना जारी गर्ने निर्णय गरेको समितिका सचिव तुलबहादुर कंडेलले बताए।
जेठ ४ गतेसम्म उजुरीका लागि समय दिएर जेठ ५ गते अर्को बैठक बस्ने भएको छ। उक्त बैठकमा उजुरीमाथि छलफल हुनेछ। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि छलफल गरेपछि प्रस्ताव पारित गर्न सक्नेछ।
त्यसपछि संवैधानिक परिषद्ले राष्ट्रपति समक्ष प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्दै शपथ गराउने संवैधानिक व्यवस्था छ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। सिफारिस भएको भोलिपल्टै समितिले सुनुवाइको प्रक्रिया अगाडि बढाएको हो।














